नागरिक सरकारमाथि सैनिक छाया

खगेन्द्र संग्रौला

नागरिक सर्वोच्चताको अस्सली ध्वजावाहक मै हुँ । अलि अघिसम्म बिछट्टको बाइसे गठबन्धन गमक्क पर्दै भन्थ्यो । र, नागरिक सर्वोच्चताको अस्सली कार्यकारी पहरेदार मै हुँ । अलि अघिसम्म बाइसेहरूको सरकार जुँगा मुसार्दै कहन्थ्यो । तर, अब दुवैले यसो भन्न छाडे । मानौँ सैन्यबलसामु यी दुवै गरुडको छाया परेको हुचिलजस्तै निस्तेज, निरूपाय र मृतवत् भइसके । दण्डहीनताको पगरीबाट विभूषित हुन लागेका मेजर निरञ्जन बस्नेत र उपरथी तोरणजंगबहादुर सिंहको विजयमुखी यात्रासँगै बाइसे गुरुजीहरू र तिनको सरकारको छद्म आवरणमुनिको यथार्थ अन्तर्य उजागर हुन सुरु भएको छ । र, सैनिक सर्वोच्चतालाई काँध थाप्ने अशोभनीय कसरतसँगै यिनको अस्तित्व सेनाको बफादार अरौटेमा पतीत हुन लागेको दयनीय दृश्यमा बदलिँदो छ । 
जगत् जान्दछ, मेजर निरञ्जन बस्नेतका निधारमा अबोध किशोरी मैना सुनारको जघन्य हत्याको कसुरको दाग लागेको छ । उपरथी तोरणजंगबहादुर सिंहका निधारमा भैरवगणबाट नागरिकहरू बेपत्ता पार्ने बर्बर कृत्यको कलंक टाँसिएको छ । नागरिक अदालतबाट तथ्य-सत्य निरूपण गरी विधिवत् रूपमा यो दाग र यो कलंक सदर वा बदर गरिन बाँकी नै छ । तर, नेपाली सेनाको नेतृत्व भने यी दुई जंगीबन्धुलाई पञ्चखत माफी दिन कठोर हठका साथ कटिबद्ध छ । र, बाइसे गठबन्ध र तिनको सरकार निष्प्राण बुँख्याचाजस्तै ट्वाँ परेर यो कुरूप कृत्य दृश्य हेर्नमा मग्न छन् ।
काभ्रे जिल्ला अदालतले आदेश गर्‍यो- आरोपी मेजर निरञ्जन बस्नेतलाई न्यायिक परीक्षाको निम्ति मेरो कठघरामा पेस गर । र, प्रत्युत्तरमा तिनलाई राष्ट्रसंघीय शान्तिसेनाबाट फर्काइयो । यो कर्मलाई एउटा शुभ लक्षण मानिएको थियो । तर, जब ती विमानघाटमा आइपुगे, जनअपेक्षाविपरीत नाटक मञ्चन गरियो । तिनलाई सादा प्रहरीहरूद्वारा अदालतमा लगिनुपथ्र्यो, तर लगियो सैनिक प्रहरीहरूद्वारा जंगीअड्डामा । र, अदालती आदेशको घोर उपहास गर्दै कोर्ट अर्फ इन्क्वायरीको नक्कली नाटक मञ्चन गर्न थालियो । गजब छ बा ! जंगी वकिल आफैँ, जंगी न्यायाधीश आप“mै र फैसला गरिने आप\mनै मनचिन्ते तजबिजमा । तर, नागरिक सर्वोच्चताको डंका पिट्ने पंगु नेपाल सरकार केही गर्न सक्दैन । न त यो सरकारको जन्मदाता बाइसे गठबन्धन नै केही भन्न सक्छ । मैना सुनारकी आमा न्यायको खोजीमा छाती पिट्दै, रुँदै चारतिर भौँतारिरहेकी छन् । आरोपी बस्नेत भने जंगीअड्डामा कोर्ट अफ इन्क्वायरीको देखावटी छातामुनि दण्डहीनताको पुरस्कारको व्यग्र  प्रतीक्षामा छन् ।
महाविवादको चक्रवात्मा फसेका उपरथी तोरणजंगबहादुर सिंहलाई बढुवा नगर्न सहस्र आवाज घन्किएका थिए । आवाज स्वदेशी पनि थिए, विदेशी पनि थिए । के मानवअधिकारकर्मी, के वकिल, के पत्रकार, के बुद्धिजीवी, के राष्ट्रसंघ, सबैको प्रायः एउटै आग्रह थियो- निष्पक्ष आयोगद्वारा तोरणका निधारको दागको परीक्षा गराऊ । तर, यो मामलामा पनि काइँकुत्ते नाटकै मञ्चन गरियो । जंगीअड्डाले आफैँ वकिल, आफैँ न्यायाधीशको भेषमा तोरणलाई निर्दोष घोषित गर्‍यो । र, जंगीअड्डाको अरौटे टाइपको सरकारले आप\mनो खल्तीका केही जीहजुरमार्गी जीवको कथित आयोग बनाएर जंगीअड्डाको फैसलालाई नै सदर गरिदियो । भैरवगणबाट बेपत्ता पारिएका नागरिकका पि्रयजनका आँखामा आँसु निखि्रएका छन्, कहिल्यै नफर्किनेहरूको पर्खाइमा ती पलपल सुस्केरा हालिरहेका छन् । तर, कसुरदार तोरणकाजीको भने बकाइदा बढुवा भइसक्यो ।
शाही शिक्षा र बफादारीबाट दीक्षित भई आएको नेपाली सेनाले गर्व गर्न लायकका कीर्तिमान फगत दुईवटा थिए । पहिलो, खम्पा विद्रोहलाई दमन गरिएको कीर्तिमान र दोस्रो, राष्ट्रसंघीय शान्तिसेनामा पेसागत दक्षता, शौर्य र बफादारी प्रदर्शन गरिएको कीर्तिमान । पहिलो कीर्तिमान खासै उल्लेख्य होइन । हात्ती आकारको सेनाले नाथे एकजना गुण्डा वाङ्दीका केही लफंगा पिछलग्गुहरूलाई दमन गर्नु आखिर कत्रो कुरा हो र ? तर, यसले राष्ट्रसंघीय शान्ति मिसनमा कायम गरिआएको कीर्तिमान भने निःसन्देह उल्लेख्य हो । अहिले राष्ट्रसंघको अटल र निरन्तर आग्रहविपरीत मेजर निरञ्जन र उपरथी तोरणलाई दण्डहीनताको पुरस्कार टक्रयाउने सुतीखेती गरेर नेपाली सेना आप\mनो अन्तर्राष्ट्रिय छविमा धब्बा लगाउने विद्रूप उद्योग गरिरहेछ । यसरी अन्तर्राष्ट्रिय कूटनीतिक मोर्चामा यो अटेरी र अघोरी सावित भइरहेछ । र, नेपाल सरकारचाहिँ नेपाली सेनाको यो नकामलाई बढावा दिन खुट्टो उचालेर लज्जाहीन मुद्रामा ङच्िच हाँस्दै इतिहासको डिलमा उभिएको छ ।
एकथरी राजनीतिकर्मी छन्, जो जनमतको डरले हर्दम औडाहाकारी दुःस्वप्नको सिकार भइरहेका छन् । संविधानसभाको चुनावअघि यी ठान्थे- जीवनमा म कहिल्यै हार्दिनँ । जब हारे, कहिल्यै नफर्किनेगरी यिनको सातो गयो । र, अहिले भयाक्रान्त मनोदशामा यी ठान्छन्- यो जीवनमा म कहिल्यै जित्दिनँ । यिनको यो सन्तापयुक्त मनोविज्ञान अनेक कुरामा अभिव्यक्त भएको देखिन्छ । यी ठान्छन्- माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरियो भने तिनले यसलाई आप\mनै प्रारूपमा ढलान गरिदिन्छन् । अनि दुःखमा हामीलाई हेर्ने कोही बाँकी रहने छैन । सेना समायोजनविरोधी यिनको जिद्दीको गुदी कुरो, मलाई लाग्छ, यही नै हो । त्यसैले कुनै कसुरदार सैनिक जवान वा अफिसरलाई कारबाही गर्दा सेनाको मनोबल गिर्छ भनी यी हामीलाई लोकतन्त्रविरोधी र विधिविरोधी अर्ती दिन्छन् । दण्डहीनताको पुरस्कार दिएरै भए पनि दुःखमा आफूलाई हेरिदिने सेनाको मनोबलको रक्षा गर्नु यिनको परम् धर्म भई आएको छ । मेजर बस्नेत र उपरथी सिंहलाई पञ्चखत माफी दिने धृष्टताको पछिल्तिर रहेको गुह्य यही नै हो ।
मूढमति र अल्पदृष्टिका धनीहरू न कहिल्यै इतिहासको स्मरण गर्छन्, न इतिहासबाट कहिल्यै केही सिक्छन् । संरचना, कार्यशैली र संस्कृतिमा आजसम्म एकरत्ति सुधार नगरिएको नेपाली सेनामा पुरानो मनोविज्ञान र संस्कृति जब्बर छ । यही सेना हो, जसले महेन्द्रको मर्जीअनुसार बिपी कोइरालाको निर्वाचित सरकारलाई संगिनको छायामुनि कैद गरेको थियो । यही सेना हो, जसले निज महेन्द्रका छोरा ज्ञानेन्द्रको सनकअनुसार जननिर्वाचित संसद्को बध गरेको थियो । ओहो ! बाइसे गुरुजीहरू र तिनको नेपाल सरकारले यो कुरा कति छिट्टै र कति सजिलै बिर्सेका ? नेपाली सेनामा हुर्काइएको दण्डहीनता आमदण्डहीनताकै मुहान हो । बाइसे हजुरहरू र तिनको सरकारको नेपाली सेनालाई दण्डहीनताको पुरस्कार दिइरहने कृत्यमा बाघको डरले चितुवाको शरण पर्ने भेडागोठालाको मूर्खताको पुनरावृत्ति भएको देख्न सकिन्छ । बाह्रवर्षे संसदीय कुशासनका अन्तिम दिनतिर यिनको यही प्रवृत्ति प्रकट भएको थियो । यिनले राजाको शाही सेनालाई आप\mनो दुःखको साथी सम्झेका थिए । तर, नतिजा के भयो ? त्यही सेनाले राजाको ‘पवित्र हुकुम’ बमोजिम यिनलाई घरैमा वा खोरमा कैद गर्‍यो । नागरिक सर्वोच्चतालाई तिजाञ्जली दिँदै सैनिक सर्वोच्चतातर्फ उन्मुख यी मानवहरूले भोलिका दिनमा पाउने पुरस्कार पनि आखिर यस्तै त होला ।

from:-nayapatrika dainik

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: