विद्या भण्डारीका मुखमा ताल्चा ठोक

3927591931_af624baa90

खगेन्द्र संग्रौला

     खाओवादी राजनीतिका कृपाले ढोडको लौरोतुल्य माधवकुमार नेपाल जब प्रधानमन्त्री बने, यिनलाई कसैले प्वाक्क ‘कठपुतली प्रधानमन्त्री’ भनिदियो । उसवेला माधवबाबुमाथि अलि ज्यादती पो भयो कि भनी मलाई लागेको थियो । तर, अहिले श्री नेपाल कठपुतलीहरूका पनि कठपुतली गोचर भएका छन् । माधवकाजीको भारत भ्रमणमा परराष्ट्रमन्त्री सुजाता होइरालाले उपप्रधानमन्त्री पद नपाएको झोँकमा आप\mना प्रधानमन्त्री महोदयलाई फरिया देखाइदिइन् । चित्तमा झँिगाका मुन्टाजति मात्र पनि इख र लाज हुँदो हो त प्रत्युत्तरमा माधवगुरु के गर्थे ?कि त हदै पदलोलुप एवं उद्दण्ड घुर्कीबाज सुजातालाई कुर्सीच्यूत गर्थे कि आफू कुर्सी छाडेर नागरिक भेषमा खुत्रुक्क सडकमा ओर्लिन्थे । तर, कायाकलेवरमा केवरा उखुको गिँडझैँ प्रतीत हुने यी अतिशय कुर्सीप्रेमी काजीले दुवै गरेनन् । यिनले जे गरे, दासानुदासले गर्ने लाजमर्नु कृत्य गरे । गिरिजाप्रसाद कोइरालाका चरणमा नाक टेकाएरै भए पनि यिनलाई प्रधानमन्त्रीको कुर्सी जोगाउनु थियो । त्यसैले यिनले सारा दुनियाँले देख्नेगरी आप\mनो अनुहारमा मोसो दलिदिने उनै सुजातालाई सभक्ति शिरमा बोके । र, सुजाताको विवेक कम, आडम्बर बढी भएको शिरमा यिनले उपप्रधानमन्त्रीको झल्झलाकार मुकुट पहिराइदिए । यसरी लुब्धगणको शासनको आसनमा सुजाता अधिराजकुमारी बनिन् र प्राविधिक प्रधानमन्त्री माधवबाबु बने तिनका आज्ञाकारी प्रजा ।
अहिले मदनपत्नी विद्यादेवी भण्डारीको भेषमा माधवकुमार नेपालका शिरमाथि अर्की अधिराजकुमारीको जायजन्म भएको छ । र, हुतिहारा माधवबाजे तिनका पत्करतुल्य निरीह प्रजा बनेका छन् । कठोर तथ्य भन्छ- रक्षामन्त्री भनिने विद्या भण्डारीको असन्तुलित र दिग्भ्रमित मानसमा अथाह युद्धपिपासा छ । तिनमा दण्डहीनताप्रति अगाध मोह छ । तिनमा निधारमा रगतका छिटा लागेका सैनिक जर्नेलहरूप्रति अपार श्रद्धा छ । तिनमा माओवादी लडाकुहरूप्रति असीम द्वेषभाव छ । र, तिनमा म साँच्ची नै अधिराजकुमारी भएँ भन्ने उत्पात दम्भ छ । र नै संहारमार्गी विद्या भण्डारी शान्ति-सम्झौताको लिखतमा मट्टीतेल छर्केर आगो झोस्न मरिमेटेर तम्सेकी छिन् ।
अधिराजकुमारी विद्या भण्डारीको राजनीतिक योग्यता र योगदान जागरुक जगत्लाई कण्ठै छ । जब मदन भण्डारीको जघन्य हत्या भयो, उनकी पत्नी विद्या भण्डारी राजनीतिको अपुताली उत्तराधिकार भोग गर्न संसदीय चुनावी मैदानमा प्रकट भइन् । उनी शोकसूचक सेतो साडीको परिधानमा थिइन् । सेतो साडीको शोकसन्तप्त दृश्यले सडकभरि कारुणिक संवेदनाको भेल बगायो । र, लोकपि्रय पति मदनको नाम भँजाएर उनले चुनाव जितिन् । र, अलि पछि दिवंगत पति मदन भण्डारीप्रति भावपूर्ण श्रद्धा प्रकट गर्न उनी पचास-साठी लाख रुपैयाँ पर्ने भन्सारमुक्त रातो प्राडोमा सवार भइन् । वास्तवमा आज प्रकट भएकी अधिराजकुमारी विद्या भण्डारीको प्रारूपको जायजन्म त्यही लाल प्राडोमा भएथ्यो । मदन भण्डारीले सूत्रपात गरेको छायावादी जबज-मार्गप्रति उनको योगदानका दुई अमूल्य बुँदा यिनै हुन् ।
अहिले विद्या भण्डारीलाई एमालेभित्रको चरम गुटबन्दीको भागबन्डाको अंशभागको सौभाग्य प्राप्त भयो । यो अंशभाग वास्तवमा उनका उनै दुईबुँदे योगदानको सम्मानको दह्रो दसी हो । वनस्पतिरूपी ऐंजेरु अर्कै वृक्षको टुप्पोमा पलाउँछ । उसो त पार्टीरूपी वृक्षको टुप्पोमा पनि मानवरूपी ऐंजेरु पलाउँछ । टुप्पामा पलाउनेहरू स्वभावतः टपर्टुइँया हुन्छन् । तिनलाई न आप\mनो हुति र हैसियतको हेक्का हुन्छ, न त आप\mनो पदीय दायित्व र कर्तव्यको चेत नै हुन्छ । अधिराजकुमारी विद्या भण्डारी दलीय वृक्षमा पलाउने ऐंजेरु मानवको एक खास्सा उदाहरण हुन् ।
यस घडीमा असुरक्षामार्गी रक्षामन्त्री विद्या भण्डारी दक्षिणपन्थी सैन्यवादको मुखर, धृष्ट र निर्लज्ज प्रवक्ताको औतारमा उत्रिएकी छिन् । यिनका नजरमा नेपाली सेना उच्च र शुद्ध बिष्टहरूको पवित्र सेना हो । यो पवित्र सेनामा तुच्छ र बिटुलो माओवादी सेनालाई समायोजन गरे यो शुद्ध सेना बिटुलिन्छ । हुन त अभिप्रायले कसमाथि धावा बोल्न हो थाहा छैन, यिनलाई नेपाली सेनामा भर्तीको प्रक्रिया थालिहाल्न हतार छ । यिनलाई नेपाली सेनालाई जीवनमारा हतियार किनिहाल्न आतुरी छ ।
यी अधिराजकुमारीका अति दयालु एवं कृपाकारी दृष्टिमा सेवानिवृत्त सेनापति रुक्मांगद कटवालले जनआन्दोलनमा अब्बल योगदान गरेका छन् । तसर्थ पुरस्कारबापत तिनलाई शक्तिशाली परामर्शकारी पद टक्रयाउन यिनलाई हुटहुटी छ । उनै कटवालकाजीलाई, जसको नाम रायमाझी आयोगकृत अपराधकर्मीहरूको सूचीमा मुल्तबीमा रहेको छ । र, तोरणजंगबहादुर सिंहलाई बढुवा गर्न यी अधिराजकुमारी हत्ते हालिरहेकी छिन् । उनै तोरणलाई, जो भैरवनाथगणको नरबध कार्यका कमान्डरका रूपमा अनमिनदेखि युएनसम्म सर्वांग चिनिएका छन् । र, जसको नाउँमा चौतर्फी विवाद र आपत्ति छ । विद्या भण्डारीका यी विषाक्त वाणीहरूमा शान्तिप्रक्रियालाई ध्वस्त पारेर युद्धको ढोका खोल्ने व्यग्रता प्रत्यक्ष रूपले ध्वनित हुन्छ ।
उसो त विद्या भण्डारीका दूषित पदचिह्नका पछिपछि अन्य कतिपय गुरुजी पनि खुलेरै लागेका छन् । लोकहितका दृष्टिले सर्वथा अनुदार चरित्रको कथित उदार अर्थव्यवस्थामा विशारद प्राप्त गरेका वाचाल पुरोहित रामशरण महत युद्धको उपासना गर्दै सेना समायोजनविरुद्ध अहोरात्र कुर्लिरहेका छन् । मानौँ नेपाली कांग्रेसको विस्मृतप्रायः प्रजातान्त्रिक समाजवादको आधारस्तम्भ दक्षिणपन्थी सैन्यवाद हो !
र, आप\mनो दलको राजनीतिमा सधैँ मौलिकताको झल्िके जलप लगाउन सिपालु श्री नारायणमान बिजुक्छेले कुनै मौकापरस्त नागरिक अनुहार अघि लाएर सेनालाई सडकमा उतार्ने महावाणी जारी गरेका छन् । मानौँ कमरेड रोहितको ‘समाजवादी गणतन्त्र’ ल्याइदिने अचुक माध्यम दणिणपन्थी सैन्यवाद नै हो !
अनमिन हाम्रो शान्तिप्रक्रियाको साक्षी, सहजकर्ता र सचेतकको भूमिकामा हाम्रो आँगनमा हाजिर छ । अनमिनले जब रक्षामन्त्रीको गद्दीमा बसेकी अधिराजकुमारी विद्या भण्डारीको अनर्गल प्रलाप सुन्यो, ऊ झस्क्यो । अनमिन प्रमुख करिन ल्यान्डग्रेनले अधिराजकुमारी विद्यादेवी भण्डारी र तिनका निस्तेज प्रजा माधवकुमार नेपाललाई शान्ति-सम्झौताका लिखित वाचाहरूको स्मरण गराइन् । त्यसो त तिनले ती वाचाविरुद्ध उत्तेजनाकारी बक्बक् नगर्न चेतावनी पनि दिइन् । यो तिनको पेसागत र मानवीय धर्म दुबै हो । लाग्छ, दक्षिणपन्थी सैन्यवादका पुजारीहरूलाई अनमिन आप\mनो विनाशकारी बाटोको तगारो भएको छ । यो तगारो नहुँदो त अधिराजकुमारी विद्या भण्डारीको मुखबाट प्रकट भइरहेका यावत् कुत्सित योजना सके भटाभट लागू भइसक्थे ।
प्रश्न छ ः विद्या भण्डारी कुन सरकारकी र कुन पार्टीकी सदस्य हुन् ? यिनका मुखबाट पोखिइरहेका विग्रहकारी वाणी पर्दापछाडिको कुन कुसुलेद्वारा प्रायोजित र परिचालित हुन् ? थाहा छ, बोल्ने मुख विद्या भण्डारीको हो, बोलिएको घातक विषय उनको होइन । बोल्ने स्वर विद्याको हो, बोलिएको विषाक्त दृष्टिकोण उनको होइन । उनी त फगत एक मैनको पुतली हुन् । नेपथ्यमा लुकिबसेको कुसुले को हो ? अधिराजकुमारी विद्याका प्रधानमन्त्री नामधारी प्रजारूपी पात्र श्रीमान् माधवकुमार नेपाल ? आलंकारिक एमाले-प्रमुख श्री झलनाथ खनाल ? कि घरी-घरी दिल्ली-दौडाहा गरेर उँधोको आज्ञा लिएर फर्किने मिस्टर केपी शर्मा ओली ?
कुसुले जो हौ, युद्धपिपासु अधिराजकुमारी विद्या भण्डारीका मुखमा ताल्चा ठोक !

समाचार श्रोत:नयाँपत्रिका दैनिक

Advertisements

2 Responses to “विद्या भण्डारीका मुखमा ताल्चा ठोक”

  1. munna gautam Says:

    yastaa ghatiyaa lekh lekhne timrai haatmaa talchaa thok

  2. lamakhule Says:

    good i like this argument. tes pachhi haruwa haru ko jhund ko leader.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: