‘राष्ट्रपतिले राज्यद्रोह गरे’

 

डा. बाबुराम भट्टराई

सरकारले अवकाश दिएका सेनापतिलाई राष्ट्रपतिले पुनस्र्थापना दिएको बताएका छन्, सरकारको प्रतिक्रिया के छ ?
यो असंवैधानिक ‘कु’ हो । बाह्य शक्तिको उक्साहटमा राष्ट्रियता र गणतन्त्रविरुद्ध गरिएको जघन्य अपराध
हो । राष्ट्रपतिबाट भएको राज्यद्रोह हो ।

राष्ट्रपतिले त कटवाल पुनस्र्थापित भएको बताएका छन्, को हुन्छ सेना प्रमुख अब ?

लास ब्युँताउने कुनै विज्ञान छैन । राष्ट्रपतिले आफूसित हुँदै नभएको अधिकार प्रयोग गरेर कटवाललाई कसरी पुनस्र्थापित गर्न सक्छन् ?
सरकारले संविधान, नियम-कानुनअनुसार आवश्यक कारबाही गर्छ । जननिर्वाचित सरकारविरुद्ध कदम चाल्ने राष्ट्रपतिविरुद्ध जनस्तरबाट प्रतिरोध गर्न आह्वान गर्छ ।

तपाइंहरू सडकमै जानुहुन्छ ?

हामी होइन, आमनेपाली जनता सडकमा जान्छन् । पार्टीभन्दा माथि उठेर प्रतिरोध हुन्छ । प्रतिरोधको स्वरूप पनि जनताले नै निर्धारण गर्नेछन् ।

राष्ट्रपति र सरकारबीचको यो द्वन्द्वको संकेत के हुन सक्छ ?

यो अग्रगमन र प्रतिगमनबीचकै संघर्ष हो । हिजो राजालाई अघि सारेर माघ १९ गरेजस्तै अहिले यादवलाई अघि सारिएको छ ।

राष्ट्रपतिबाट यस्तो हुन सक्ने संकेत पाउनुभएको थियो ?

लामो समयदेखि यस्तो देखिँदै थियो । सरकारलाई चारैतिरबाट घेर्ने प्रयास भइरहेको थियो । विभिन्न दलभित्रका लेन्डुप दोर्जे गणतन्त्र मास्ने दुष्प्रयासमा थिए । उनीहरूकै उक्साहटमा यो सब भएको हो ।

अब शान्ति-प्रक्रियाको भविष्य के होला ?

शान्ति-प्रक्रियामाथि ठाडो आक्रमण भएको छ । संविधानसभा र संविधानमाथि पनि अतिक्रमण भएको छ ।

राष्ट्रपतिको अर्को कदम के हुन सक्छ ?

राष्ट्रपति लेन्डुप दोर्जेको भूमिकामा प्रस्तुत भएका छन् । तर, उनले के गर्छन्, त्यो प्रमुख होइन, जनताले उनलाई के गर्छन् भन्ने प्रमुख हो ।

कटवालको हैसियत अब के हो ?

सरकारले जे भन्छ, त्यही नै वैध हो । अवैध ढंगले कसैले ठड्याएर केही हुँदैन ।

समग्र घटनाक्रमको परिणति के होला ?

यो नेपाली इतिहासको गम्भीरतम घटनामध्ये एक हो । जनताले अब प्रतिवाद गर्नुपर्छ । देशभक्त र गणतन्त्रवादी कसैको कठपुतली बन्नु हुँदैन ।

तपाईंको इसारा भारततिर हो ?

मलाई किन बोल्न लगाउनुहुन्छ ? बुझ्नेलाई इसारा काफी छ ।

himalkhabar bata

Leave a comment