एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको बैठकमा गयल भएको दिनको तलब फिर्ता गर्नुभएको छ ।स्वकीय सचिव विश्वदीप पाण्डे मार्फत उहाँले आइतबार दिउँसो संविधानसभा सचिवालयमा चार हजार रुपैयाँ फिर्ता गर्नुभएको उपसचिव केशवबाबु अर्यालले जानकारी दिनुभयो ।उहाँले संविधानसभाको अबको दिनमा आफू अनुपस्थित भएका दिनको तलव सचिवालयबाटै कट्टा गरी उपलब्ध गराउन पनि सचिवालयलाई निवेदन मार्फत आग्रह गर्नुभएको छ ।
अर्यालका अनुसार अन्य सभासदहरुलाई पनि यसले प्रेरणा मिलोस् र आफू गएल भएका दिनको तलव नलिउन् भन्ने प्रेरणा मिल्ने छ भन्ने कुरा निवेदनमा उल्लेख गरिएको छ ।भट्टराईले संविधानसभाको बैठकमा उपस्थित नभएको २० दिन बराबरको चार हजार रुपैयाँ फिर्ता गराउनुभएको हो ।आगामी दिनमा पनि उपस्थित नभएको बेलाको भत्ता सचिवालयले नै कट्टा गरी उपलब्ध गराइदिएमा अन्य सभासदमाथि नैतिक प्रश्न उठ्ने कुरा निवेदनमा उल्लेख भएको अर्यालले बताउनुभयो।
प्रधानमन्त्री माधवकुमार नेपाल लगायत प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, विष्णु पौडेल, कृष्णबहादुर महरा, विजयकुमार गच्छदारलगायतका मुख्य नेताहरुले पनि लामो समय संविधानसभाको बैठकमा नगएका दिनको विदा स्विकृत गरेर तलव लिएका छन् ।
Advertisement